फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको ‘हत्यामा संलग्न’ व्यक्ति पक्राउ

admin

काठमाडौं, २० फागुन। प्रहरीले भक्तपुरमा मृत अवस्थामा फेला परेका गोपाल प्रसाद ढकालको हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै ढकालको हत्या आरोपमा भक्तपुर चागुनारायण घर भएका सन्तोष सुवाललाई मृतकको मोवाईलसहित काभ्रे मण्डनदेउपुरबाट पक्राउ गरिएको जनाएको हो ।

फागुन १० गते तेह्रथुम घर भइ हाल भक्तपुर सिपाडोल बस्ने गोपाल प्रसाद ढकालकी श्रीमती रेनु ढकालले आफ्नो श्रीमान हराएको र श्रीमान चाहिए सुर्यविनायक जंगलमा दुई लाख लिएर आउनु भनि फोन आएको भन्दै प्रहरी वृत्त जगातीमा जानकारी गराउनुभएको थियो ।

निजको खोजतलास गर्दै जादा फागुन ११ गते सुर्यबिनायक ८ स्थीति रोधन बस्नेतको गोठमा गोपाल प्रसाद ढकाल मृत अवस्थामा फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताउनुभयो ।

तत्पश्चात अनुसन्धान गर्दा सन्तोष सुवाल उक्त घटनामा संलग्न भई वरदात पश्चात फरार रहेको खुल्न आएकाले खोज तलास गर्दै जाँदा काभ्रेबाट पक्राउ गरिएको उहाले जानकारी दिनुभयो ।

त्यस्तै प्रहरीले बिभिन्न प्रलोेभन देखाएर अनलाइनमार्फत ठगि गर्ने चारजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा आदित्य कुमार सिंह, सिद्धार्थ कुमार सिंह, रामसेवा राम र आकाश साह सोनार रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

बिभिन्न एप प्रयोग गरि महँगो ब्राण्डका मोबाइल सस्तोमा दिने प्रलोभन देखाएर उनीहरुले रु ४९ लाख ५८ हजार ८ सय रकम ठगि गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया