एमाले सिध्याउने गठबन्धन टुट्यो, नयाँ गठबन्धन मिसन–२०८४ का लागि उपयोग गर्छौंं: ईश्वर पोखरेल

admin

काठमाडौं, २६ फागुन । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समिकरणले पार्टी सिध्याउने अभियान टुटेको दाबी गर्नुभएको छ ।


पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले देश भित्र र बाहिरका केही शक्तिहरुले एमाले सिध्याउने प्रयोजनका लागि बनाएको काँग्रेस नेतृत्वको अपराधिक गठबन्धन टुटाएर नयाँ समिकरण बनाउन आफूहरु सफल भएकाले यसलाई सकारात्मक रुपमा लिएको पनि बताउनु भयो । शनिवार पार्टीको काठमाडौं महानगरपालिका वडा नम्बर ५ को १२ औं अधिवेशनमा बोल्दै उहाँले नयाँ सत्ता समिकरणलाई पनि मिशन–२०८४ पूरा गर्न सहयोगीको रुपमा प्रयोग गर्ने योजना समेत सार्वजनिक गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ सालको निर्वाचनमा पार्टीलाई एक्लै बहुमतमा पु¥याउने लक्ष्यसहित अघि बढाएको मिसन २०८४ जारी रहने र त्यस अभियानलाई सहयोग गर्न सरकार र सत्तारुढ गठबन्धनलाई पनि उपयोगमा ल्याउने पार्टीको योजना रहेको बताउनु भयो । उहाँले नयाँ सत्ता समिकरणमार्फत् मुलुकको बेथितितर्फ गईरहेको राजनीतिलाई सही दिशामा ल्याउन सक्दो कोशिस गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘हामीले भनेका छांै–मिसन २०८४ । हामीले मिसन– २०८४ भनेका छौं । मिसन २०८४ भनेको के ? २०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्छ । एमाले एक्लैले बहुमत ल्याउनुपर्छ । क—कसलाई समेटेर जाने हो, त्यो अलग कुरा हो । तर एमालेले बहुमत ल्याउनुपर्छ । त्यसको लागि मिसन २०८४ भनेको त्यो निर्वाचनमा बहुमत नल्याउने हो भने देशको दुर्दशा बदल्न सकिदैन । देखिरहनुभएको छ अहिले तमासा । हिजो हामीले भन्यौं–एमालेको विरुद्धमा एउटा अपराधिक गठबन्धन बन्यो ।

षड्यन्त्रपूर्ण गठबन्धन बन्यो । अराजनीतिक गठबन्धन बन्यो । त्यो गठबन्धनले के ग¥यो भने एमालेलाई सिध्याउने कुरा ग¥यो । चुनावभन्दा अगाडि सिद्धान्त विपरित, कार्यक्रम विपरित, योजना विपरित गठबन्धन खडा भयो । त्यो गठबन्धनले एमालेलाई सिध्याउने योजना बनायो । बाहिरका शक्तिहरु पनि लागे, भित्रका पनि लागे । तर एमाले यस्तो जनआधारित शक्ति थियो, सिटमा हाम्रो केही तलमाथि परेपनि मतको हिसावले सर्वाधिक लोकप्रिय मत प्राप्त ग¥यौ हामीले । एमाले सकिएन । एमाले झन जबर्जस्त रुपमा उठ्यो । हामीले त्यसबेला के भनेका थियौं भने गठबन्धन गर्न सकिन्छ ।

निर्वाचन पछि कसैको पनि बहुमत नआएको अवस्थामा मिलेर सरकार बनाउन सकिन्छ । तर निर्वाचन भन्दा पहिलो राष्ट्रब्यापी रुपमा जो गठबन्धन गरेर एमालेको बिरुद्ध हमला गरियो । त्यो अपराधिक योजना अन्तरगत थियो भनेर हामीले भन्यौं । अहिले पनि हाम्रो विश्लेषण यही हो । अनि, यो अहिले हेरफेर भयो नि । यो के हो नि भन्नु होला तपाईहरुले । हेरफेर भएको के हो भने यो त्यो षड्यन्त्रपूर्ण ढंगले बनेको गठबन्धन पराजित भएको हो । त्यो गठबन्धन भत्केको हो । त्यस अर्थमा हामी यसलाई सकारात्मक रुपमा लिन्छौं । नयाँ ढंगले आउ भन्ने हाम्रो प्रश्ताव हो । हामी त्यस अनुरुप अगाडि बढन चाहन्छौं ।

र यो भनिरहँदा मिसन २०८४ के हुन्छ ? मिसन २०८४ जारी रहन्छ । मिसन २०८४, एमालेले बहुमत ल्याउने जुन योजना हो, त्यो योजना हाम्रो जारी रहन्छ । मुलुकको राजनीतिकलाई सकारात्मक दिशामा अघि बढाउने हाम्रो कोशिस जारी रहन्छ । हो त्यही अन्तर्गत यो चिज भएको हो । त्यो जे एमालेको बिरुद्ध एउटा अपराधिक शिलशिला थियो, त्यो शिलशिला हाललाई टुटेको छ । र, अव यसलाई सकारात्मक दिशातर्फ लगेर मिसन २०८४ लाई पूरा गराउने कुरामा यसलाई एउटा सहयोगी पक्षको रुपमा हामी प्रयोग गर्छौं । यो हाम्रो स्पष्ट अडान हो । त्यसकारणले हामी मुलुकको राजनीति, जो बेथितितर्फ जान थालेको छ । यो बेथितितर्फ जान थालेको राजनीतिलाई सही दिशातर्फ लैजाने हाम्रो कोशिस हो ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि भ्रष्टाचारबिरोधी अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

प्रतिक्रिया