काठमाडौं, १ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ललिता निवास लगाएत बिभिन्न प्रकरणमा मुछिएका राजनीतिक पृष्ठभूमि भएकाहरु व्यक्तिहरुलाई कारवाही गरेर देखाउन गृहमन्त्रीलाई चूनौति दिनुभएको छ ।
हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना लगाएतका बिभिन्न माग राख्दैं बिहीबार काठमाडौंमा आयोजना गरेको प्रदर्शनपछि आयोजित सभामा थापाले ललिता निवास, सुन तस्करी प्रकरणमा ठूला व्यक्तिहरुलाई जोगाउने काम भएको भन्दै उनीहरुलाई कारवाही गरेर देखाउन गृहमन्त्रीलाई चूनौति दिनुभएको हो । उहाले गृहमन्त्रीमाथि लागेको सहकारी ठगिको बिषयमा पनि सहि ढंगले छानविन गर्न समेत चूनौति दिनुभयो ।
सरकार र राजनीतिक दलहरुका कारण नेपाली युवाहरु खाडी मुलुकमा जान बाध्य भएको भन्दै उहाले मुलुकको वर्तमान व्यवस्था पूर्ण असफल भएको जिकिर गर्नुभयो । हिजो जनयुद्धमा बन्दुक बोक्नेहरु खाडी मुलुकमा र बन्दुक बोकाउने नेताहरु रातारात अर्वपति भएको उहाले बताउनुभयो ।
अध्यक्ष थापाले राजनीतिक नेताहरुले अर्वौ रुपैया विदेशी बैंकमा लुकाएर राखेको आरोप समेत लगाउनुभयो । उहाले मुलुकको परिवर्तन देश र जनताका लागि नभई नेताहरुलाई कमाउने भाँडो बनेको जिकिर गर्नुभयो ।
अध्यक्ष थापाले बिभिन्न क्षेत्रमा देखिएको समस्या राजनीतिक नेताहरुकै कारण भएको बताउनुभयो । हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको हो ।