काठमाडौं, १ चैत । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कांग्रेसले सदनमा उठाएका बिषयलाई सामान्य रुपमा लिए कठोर कदम चाल्न बाध्य हुने बताउनुभएको छ ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसंग कुरा गर्दै खतिवडाले सहकारी र सुन प्रकरणका बारेमा आफुहरुले सदनमा प्रधानमन्त्रीको जवाफ माग गरेको भन्दै सदनमा उठाएका बिषयलाई सामान्य रुपमा लिए कठोर कदम चाल्न बाध्य हुने बताउनुभएको हो ।
उहाले संसदलाई अवरुद्ध गर्ने अवस्था सकेसम्म आउन नदिने तर संसदीय पद्धती अनुसार गर्ने काम कारवाही सरकारले गरेन भने अर्को कदम चाल्ने चेतावनी दिनुभयो ।
उपप्रधान एवं गृहमन्त्री वा अन्य मन्त्रीहरुका बिषयमा सदनमा प्रश्न उठ्नु अस्वभाविक नभएको उहाको भनाइ छ । उहाले सुन तस्करी अध्ययन प्रतिवेदन सवै सांसदहरुको हातमा आउनुपर्ने बताउनुभयो ।
उहाले गृहमन्त्रीले आफ्नो मुद्दामा चलखेल गर्ने काम नगर्ने र अरु मुद्दाहरुमा पनि गलतलाई कारवाही गर्नेगरि अघि बढ्न सुझाव दिएको धारणा राख्नुभयो ।
त्यस्तै खतिवडाले सुशासनको कुरा गर्ने प्रधानमन्त्रीले बिभिन्न प्रकरणमा मुछिएकालाई मन्त्रिपरिषदमा सहभागी गराएको भन्दै आपति जनाउनुभयो ।