काठमाडौं, ४ चैत । नेपाल समाजवादी पार्टीको डा.बाबुराम भट्टराई पक्षले महिन्द्रराय यादव समूहले माओवादीसँग गरेको एकता पार्टीको नीति बिपरित भएकाले पार्टीले मान्यता नदिने निर्णय गरेको छ ।
पार्टी कार्यालय तीनकुनेमा बसेको नेसपाको केन्द्रीय कार्यकार्यकारिणी बैठकले पार्टीको नीति बिपरित स्वार्थका आधारमा केहि नेताहरुले माओवादीसंग पार्टी एकता गरेको भन्दै त्यसको कुनै मान्यता नहुने निर्णय गरेको हो । नेसपालाई संगठनात्मक रुपमा देखिएका समस्या समाधान गर्दै पुनर्जिवित गर्ने बिषयमा पार्टी गम्भीर रहेको कार्यकारिणी सदस्य कृष्ण शर्माले बताउनुभयो ।
अनुशासनलाई तोडेर सत्ता समिकरणको खेलमा अमुक स्वार्थ पुरा गर्ने ध्येयका साथ पार्टीका केहि नेताले गरेको क्रियाकलाप स्वीकार्य नहुने उहाको भनाइ छ । शर्माले कार्यकारिणी समिति बैठकमा आफुहरुसंग बहुमत रहेको दावी गर्नुभयो ।
उहाले देशको अग्रगमनका लागि कार्ययोजनासहित अघि बढ्ने भन्दै सोमबार बस्ने केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गर्ने बताउनुभयो ।