कति छ राहुल गान्धीको सम्पत्ति ?

admin

काठमाडौँ । भारतीय नेशनल कांग्रेसका पूर्व अध्यक्ष र लोकसभा सांसद राहुल गान्धीले दोस्रो पटक केरलाको वायनाड लोकसभा सीटबाट उम्मेदवारी दर्ता गराएका छन् । २०१९ मा राहुल गान्धीले उत्तर प्रदेशको अमेठीसँगै केरलाको वायनाड सीटबाट चुनाव लडेका थिए ।

अमेठीमा राहुलले भाजपाकी स्मृति इरानीसँग हार बेहोरेका थिए भने वायनाडबाट विजयी भएका थिए । राहुलले यसपटक अमेठीबाट चुनाव लड्ने कि नदिने भन्ने अझै स्पष्ट भएको छैन । गत निर्वाचनमा उनले भाकपाका पीपी सुनीरलाई चार लाख मत अन्तरले पराजित गरेका थिए । यस सिटमा अप्रिल २६ मा मतदान हुँदैछ । राहुल गान्धीको चुनावी शपथपत्रमा धेरै जानकारी बाहिर आएको छ । उनले सम्पत्ति विवरण समेत सार्वजनिक भएको छ ।

राहुलले आफ्नो नाममा कुनै पनि सवारी साधन नभएको प्रतिज्ञापत्रमा बताएका छन् । राहुल गान्धीले आफ्नो शपथपत्रमा विगत ५ वर्षमा ६ करोड भारुरुपैयाँ आम्दानी गरेको उल्लेख गरेका छन् । हलफनामामा राहुलले आफ्नो कुल सम्पत्ति २०.३९ करोड भारु रहेको बताए । यसअघि सन् २०१९ मा उनले १५.८८ करोड रुपैयाँ घोषणा गरेका थिए ।

शपथपत्रका अनुसार राहुल गान्धीसँग ५५ हजार रुपैयाँ नगद र २६.२५ लाख रुपैयाँ दुई बैंक खातामा जम्मा छ । त्यस्तै राहुल गान्धीले आफूसँग २५ कम्पनीको शेयर किनेको र त्यसमा ४.३३ करोड रुपैयाँ जम्मा गरेको बताएका छन् ।

यसबाहेक सात म्युचुअल फण्डमा ३.८१ करोड र करिब १५ लाख बराबरको सुनको ऋणपत्र रहेको उल्लेख गरेका छन् । हलफनामा अनुसार राहुल गान्धीले ६१.५२ लाख रुपैयाँ बिमा जम्मा गरेका छन् । उनीसँग ४.२० लाखको सुन र अन्य प्रकारका गरगहना छन् । यसरी राहुल गान्धीको कुल चल सम्पत्ति ९.२४ करोड रुपैयाँ बराबरको रहेको छ ।

हलफनामाका अनुसार राहुल गान्धीसँग करिब ११ करोड १५ लाख रुपैयाँको अचल सम्पत्ति छ । राहुलले दिदी प्रियंका गान्धीसँग मिलेर दिल्लीको महरौलीको सुल्तानपुर गाउँमा दुईवटा कृषि जग्गा लिएको बताएका छन्, जसमा उनको आधा सेयर छ । प्रतिज्ञापत्र अनुसार यसको हालको बजार मूल्य २ करोड १० लाख भारु रहेको छ ।

यस बाहेक राहुल गान्धीको नाममा गुरुग्राममा ५ हजार ५३८ स्क्वायर फिटको अफिस स्पेस छ, जसको हालको मूल्य करिब ९ करोड रुपैयाँ छ । हलफनामामा राहुल गान्धीले आफूले सन् १९८९ मा सीबीएसईबाट १२ कक्षा पास गरेको बताए । त्यसपछि उनले सन् १९९४ मा अमेरिकाको फ्लोरिडाको रोलिन्स कलेजबाट ब्याचलर अफ आर्ट्स गरे भने उनले सन् १९९५ मा क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजबाट विकास अध्ययनमा एमफिल गरेको बताएका छन् ।

प्रतिक्रिया