काठमाडौँ महानगरका सार्वजनिक पर्खालहरुमा भित्ते चित्र

admin

काठमाडौँ, २ बैशाख । काठमाडौँ महानगरपालिकाभित्र चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने काम थालेको छ ।

ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरुमा कलात्मक चित्र लेखनको थालिएको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो ।

सम्झौताबमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित संघसंस्थाको छनोट प्रतिष्ठानले गरेको हो । अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने कार्य भइरहेको छ । यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ताहरु, अन्तरराष्ट्रिय बिमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरु चित्र कोरिनेछन् ।

चित्र लेखन गर्दा स्थानअनुसारका आकृतिलाई प्राथमिकता दिइनेछ । रङ्गशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तरराष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभुषा विम्बित हुने चित्र कोरिनेछन् । मौलिकताका लागि कोरिने चित्रहरुमा इन्द्र जात्रा, जात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, भेषभुषा, बादन, काठमाडौँ चिनिने भौतिक सम्पदा हुनेछन् ।

यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ । चित्र भएका भित्तामा नछुने, कुनै रङ्ग नछर्किने, पोष्टर वा कागज नटाँस्ने, चित्रसँग तस्विर खिच्दा नटाँसिइ अलग्गे खिच्न, अन्य कुनै बस्तुले नलेख्ने जस्ता काम महानगरपालिकाले नागरिकबाट गरेको अपेक्षा हो ।

यसरी कोरिएका चित्रसँग सम्बन्धित जीवन्त संस्कार संस्कृतिको संरक्षण र प्रवर्धनमा महानगरपालिकाले काम गरिरहेको छ । यी चित्रहरुले काठमाडौँलाई चिनाउँछन् । यसले काठमाडौँका सम्पदाको भव्यता प्रदर्शन गरेको छ ।

प्रतिक्रिया