रातो मच्छिन्द्रनाथको रथजात्रा स्थगित

admin

काठमाडौँ । ललितपुरको रातो मच्छिन्द्रनाथको रथजात्रा केही दिनको लागि रोकिएको छ । रथ तान्ने क्रममा निकै ढल्किएकाले ललितपुर गुठी संस्थानले केही दिनका लागि रथजात्रा रोकेर रथ मर्मत गर्ने जनाएको हो । हिजो रथ ओकुबहालबाट लगनखेलसम्म तान्ने क्रममा निकै ढल्किएकाले रथलाई थपाहितीसम्म मात्र तान्न सकिएको थियो ।

रथयात्राको पहिलो दिन रथलाई पुल्चोकबाट तान्ने क्रममा नःटोलमा बिजुलीको पोलमा ठोकेसँगै रथ ढल्किन थालेको थियो । ललितपुर महानगरपालिका, गुठी संस्थान, बाराही, यंवा लगायतका रथजात्राका गुथियारहरुले रथको निरीक्षण गर्न लागेका छन् । रथ निरीक्षणपछि मात्र रथ मर्मतका लागि कति दिन लाग्छ भनेर भन्न सकिने रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले बताउनु भयो ।

गएको शनिवार पुल्चोकबाट रथ तान्न शुरु भएको थियो । अहिलेसम्म रथलाई गाबहाल, महापाल, मङ्गलबजार, सुन्धारा, ओकुबहाल हुँदै थपाहितिसम्म तानिएको छ । अब मच्छिन्द्रनाथको रथयात्रा थपाहितिबाट लगनखेल, इटिटोल, जावलाखेलसम्म बाँकी छ । रथलाई जावलाखेलमा पुर्‍याएर भोटो देखाएपछि जात्रा समापन हुन्छ ।

१२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव, काठमाण्डौका तान्त्रिक बन्धुदत्त आचार्य र ललितपुरका ललित ज्यापू वा रथचक्रले रातो मच्छिन्द्रनाथलाई भारतको कामारु कामाक्षबाट ल्याएपछि सहकाल शुरु भएको किंवदन्ती छ ।

प्रतिक्रिया