काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्ने बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो । हिजो बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेकोले आजको प्रतिनिधिसभा बैठकले निरन्तरता पाउने देखिएको छ । आजको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सभामुखले सदस्यहरूको मनोनयन गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यावाद ज्ञापन गर्ने पनि आजको कार्यसूचीमा उल्लेख छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ ।
यसैगरि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्नुहुनेछ । त्यसपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।