बारा । जिल्ला प्रहरी कार्यालय बाराले १३ लाख नक्कली नेपाली रुपैयाँसहित चारजनालाई पक्राउ गरेको छ ।
बारा प्रहरीले एक भारतीयसहित चारजनालाई १३ लाख १६ हजार नक्कली नेपाली रुपैयाँसहित पक्राउ गरी पत्रकार सम्मेलन गरेर आज सार्वजनिक गरेको हो ।
भारतको विभिन्न सहरमा बसेर प्रिन्टिङ मेसिनबाट नक्कली नोट प्रिन्ट गरी नेपालमा कारोबार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराले सिम्रौनगढ नगरपालिका-९ बाट चारैजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्लाका महमद आलम, रौतहटको राजपुर नगरपालिका-१ का मोहनकुमार साह र बाराको कोल्हवी नगरपालिका ६ का राजन चौधरी तथा आकाश चौधरी रहेको प्रहरी उपरीक्षक महेन्द्र खडकाले जानकारी दिनुभएको छ । पक्राउ परेका चारैजनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।