काठमाडौँ । ‘श्री मानव सेवा फाउण्डेसन नेपाल’ले पशुपतिक्षेत्र, वनकाली हंस मण्डपमा श्रावण १ गतेदेखि ३२ गतेसम्म ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ – २०८१ भइरहेको छ।
ज्ञान महायज्ञमा प्रसिद्ध कथा वाचिका राधिका दासीले संगीतमय शिव महापुराण कथा वाचन, देवी प्रतिभा जीले संगीतमय श्रीमद्भागवत कथा वाचन, दीनवन्धु पोखरेलले संगीतमय श्रीमद्भागवत कथा वाचन, डा.कान्ता भट्टराईले संगीतमय श्रीमद् देवीभागवत कथा वाचन र देवी चन्द्रकला सखीले संगीतमय राम कथा वाचन तथा साधु, सन्त, महन्तसँगसँगै अन्य कथा वाचकरवाचिकाको आगमनसहित ॐ आशीर्वचन कार्यक्रम भइरहेको छ।
विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत रूपमा नियमित हवन, कन्या पूजन, हजारौँको तुलादान, ज्येष्ठ नागरिकको सम्मान, ताण्डुलाचल चामलको पर्वत निर्माणलगायतको कार्यक्रम नियमित रूपमा सञ्चालन भईरहेको छ ।
काठमाडौँको कलंकीमा रहेको श्री मानव सेवा फाउण्डेसनले एक महिने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ एंव १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ आयोजना गरेको हो ।
ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ उक्त महायज्ञ आयोजना भएको हो ।
मानवसेवा फाउन्डेसन अन्तर्गत नै अहिले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा रहेका छन् । स्थापना भएको एक वर्ष मात्र भएको र उक्त मामाघर आश्रममा देशका विभिन्न स्थानका करिब ७५ जना अभिभावकविहीन बालबालिकाले निःशुल्क रूपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आएका छन् । त्यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रममा पनि दर्जन बढी बेसहारा आमाबुबाले आश्रय प्राप्त गर्दै आएका छन् ।
आज १४ दिनको श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ मा केके देखियो हेर्नुहोस् तस्विर :
तस्विर : मच्छे नारायण श्रेष्ठ/ पिएनपि खबर डट कम