काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेतृत्व निर्माणका बिषयमा बहस चलेको छ ।
आइतबार पार्टी कार्यालय पेरिसडाडामा बसेको बैठकमा नेतृत्व बिकास गर्ने बिषयमा सैद्धान्तिक बहस चलेको प्रवक्ता अग्नि सापकोटाले बताउनुभयो । सिद्धान्त, बिचार, नीतिमा राम्रो तयारी गरि नेतृत्व निर्माण गर्नुपर्नेमा छलफल चलेको उहाले बताउनुभयो । उहाले स्थायी कमिटीमा चलेको बहसले केन्द्रीय कमिटीमा पनि निरन्रतता पाउने जानकारी दिनुभयो ।
केहि दिन यता जारी स्थायी कमिटी बैठकमा स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार पार्नुपर्नेमा सदस्यहरुले जोड दिएको उहाले बताउनुभयो ।
त्यस्तै जनताका समस्या र मुद्दाहरुमा केन्द्रीत भएर जनपरिचालन कार्यक्रम ल्याउनुपर्ने, नयाँ कार्यनीतिको विकास गर्नुपर्ने धारणा आएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
माओवादी सरकारले सुरु गरेको सामाजिक न्यायसहितको सुशासनका कार्यक्रमहरुबाट सरकार पछि हट्ने देखिएकाले खवरदारी गर्नुपर्ने धारणाहरु समेत आएको उहाको भनाइ छ ।
आइतबार माओवादी स्थायी कमिटी बैठकमा १४ जना धारणा राखेका थिए । जसमध्ये अधिकांशले बैज्ञानिक मापदण्ड बनाएर पार्टीभित्रको मूल्याङ्कनलाइ प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिएका थिए ।