१६ अर्ब ऋण र अनुदान स्वीकार गर्न वार्ता टोली गठन गर्ने सकारको निर्णय

admin

काठमाडौं । सरकारले एसियाली विकास बैङ्कबाट सिँचाइ परियोजनाका लागि सहुलियत ऋण र अनुदान स्वीकार गर्ने भएको छ ।

साउन २८ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले एसियाली विकास बैङ्कबाट सिँचाइ परियोजनाका लागि

१४ अर्ब ६३ करोड सहुलियत ऋण र एक अर्ब ९९ करोड अनुदान स्वीकार गर्ने सम्बन्धमा सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा प्रकाशप्रसाद पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताउनुभयो ।

त्यस्तै भूउपयोग ऐन, २०७६ को दफा १४ को उपदफा (१) को खण्ड (ञ) बमोजिम भूउपयोग परिषद् सदस्यमा डा. रेवतीरमण पौडेल, डा. यमुना घले, डा. रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय गरेको उहाले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले नेपालको नागरिक उड्ययन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय बिमानस्थल सञ्चालनसम्बनधी कार्ययोजना स्वीकृत गरेको छ भने निजामती सेवाको प्रथम श्रेणीका सहसचिव इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाले दिनुभएको राजीनामा स्वीकृत समेत गरेको छ ।

प्रतिक्रिया