काठमाडौं । राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तापक्रम बृद्धिका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी भएको जनाएको छ ।
बुधबार सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले तापक्रम बृद्धिका कारण थामे खोलाको मुहान क्षेत्रमा रहेका हिमतालमा पानी बढेको र तल्लो ताल फुटेर बाढी आएको जानकारी दिनुभयो ।
स्थलगत निरिक्षणका क्रममा पनि हिमाल पग्लेर माथिल्लो तालमा पानीको सतह बढेको र उक्त पानी तल्लो तालमा जम्मा भई भार थेग्न नसकेको फुटेको देखिएको उहाले बताउनुभयो ।
पोखरेलले स्थानीयहरुले सो समयमा केहि बर्ष भएपनि अहिलेसम्मकै गर्मी महशुस गरेको बताएको समेत जानकारी दिनुभयो । उहाले सोलु घटनाले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढेको पुष्टि भएको उल्लेख गर्नुभयो ।
उक्त घटनाको अध्ययन गर्नका लागि सर्भे टोली सक्रिय रहेकाले केहिदिनमा नै ठोस कुरा बाहिर आउने प्राधिकरणले जनाएको छ । शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा एक्कासी बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पु¥याएको थियो । शनिबार बिहान प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।