काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको छ ।
बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले बीपी राजमार्गको चौकी डाँडादेखि कालढुंगा खण्डमा बाढीका कारण सडक नै बगाएकाले दशैं अगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको हो ।
त्यसको बिकल्पका रुपमा अन्य रुटहरुलाई सहज ढंगले सूचारु गर्ने काम भइरहेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो ।
सो सडक–खण्डमा पहाड काटेर सडक बनाउने अवस्था नरहेको र सडक बनाउनका लागि पर्खाल नै उठाउनुपर्ने देखिएको उहाले बताउनुभयो । उहाले बाढीका कारण बीच बाटोमा फसेका सवारीसाधानलाई निकाल्नका लागि खोला किनारमा नै अस्थायी सडक निर्माणको काम भइरहेको जानकारी दिनुभयो ।
दशैअघि उपत्यका बाहिरिने अन्य राजमार्गहरु सूचारु हुने उहाको भनाइ छ । शर्माले बाढीका कारण ८ स्थानका पुलमा क्षति भएको र सम्भव भएका स्थानमा बेलिब्रिज राख्ने तयारी भइरहेको जिकिर गर्नुभयो ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीका कारण बीपी राजमार्ग अहिलेको जस्तो क्षति हुने कल्पना पनि नगरिएको बताउनुभयो ।
उहाले बाढीका कारण अवरुद्ध सडक सूचारु गर्न तीव्र रुपमा काम भइरहेको जानकारी दिनुभयो । मन्त्री दाहालले बिपदका बेला भाडादरमा हुने ठगि रोक्न निरन्तर अनुगमन हुने धारणा राख्नुभयो ।
बर्षाका कारण आएको बाढीले ३४ वटा राजमार्गहरुका ८ सय ५ स्थानमा पहिरो गइ सडक अवरुद्ध भएकोमा ७७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा यातायात सुचारु गरिएको मन्त्रालयले जनाएको छ ।
अझैपनि ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा सडक अवरुद्ध भएको मन्त्रालयले जनाएको छ । जसअनुसार अरनिको राजमार्गको लार्चा–कोदारी खण्ड, बिपि राजमार्गको चौकीडाँडा–कालढुङ्गा खण्ड, पुष्पलाल मध्यपहाडी मार्गको दोलालघाट–राकथुमखण्ड, कान्ती राजपथको घपेली–बगुवाखण्ड र मेचि राजमार्गको रमिते–फिदिमखण्ड अवरुद्ध छन् ।
बाढीले बगाएका सडक सूचारु गर्नका लागि अस्थायी संरचना बनाउन मात्र करिव ३ अर्व लाग्ने अनुमान मन्त्रालयले गरेको छ ।