काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा नेकपा एमालेको स्थायी पार्टी कार्यालय निर्माण हुने भएको छ ।
शुक्रबार प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्नुभएको हो । भटभटेनीका संचालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताउनुभयो ।
उहाँले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेकोे जनाउनुभयो । एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको उहाले बताउनुभयो ।
सो क्रममा व्यावसायी गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफू पहिल्यैदेखि एमालेनिकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताउनुभयो । उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिनुभयो ।