वर्तमान सरकार परिवर्तनको हल्ला निराधार : प्रधानमन्त्री ओली

admin

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तनको हल्ला निराधार भएको बताउनुभएको छ ।

६९ औं प्रहरी दिवसका अवसरमा बुधबार प्रहरी मुख्यालय नक्सालमा आयोजित बिशेष समारोहमा प्रधानमन्त्री ओलीले दशैंपछि सरकार परिवर्तन हुने हल्ला निराधार भएको भन्दै अहिलेको गठबन्धनको सरकार पूरै अवधि चल्ने बताउनुभएको हो ।

ठूलो योगदान र इतिहास बोकेका नेपाली कांग्रेस र एमाले मिलेर अहिलेको बनेको दुईतिहाईको सरकार खरानीको डल्लो नभएको उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले देशलाई परिवर्तन गर्नका लागि ठूला दल मिलेर सरकार बनेको स्पष्ट पार्नुभयो ।

आफूले एक वर्ष ९ महिना नेतृत्व गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उहाको भनाइ छ । प्रधानमन्त्री ओलीले आगामी आम निर्वाचन कांग्रेस सभापत देउवाको नेतृत्वमा हुने समेत बताउनुभयो ।

उहाले अहिलको संविधान र अहिलको प्रणालीको रक्षा गर्दै जनताको अधिकारलाई सुदृढ बनाइने जिकिर गर्नुभयो । उहाले प्रहरीसम्बन्धी कानून छिटै पारित गर्ने र प्रहरीमा नयाँ दिनको उदय हुने धारणा राख्नुभयो ।

त्यस्तै गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी नयाँ कानून निर्माण गरेर कार्यान्वयनमा ल्याइने बताउनुभयो । उहाले सुरक्षा सङ्गठनहरूलाई थप सशक्त बनाउन सरकारले गर्न सक्ने सबै उपायहरू अवलम्बन गर्ने धारणा राख्नुभयो ।

समारोहमा नेपाल प्रहरीबाट कवाज, झाँकी तथा डेमोन्स्ट्रेशनहरूसमेत रोचक र नेपाल प्रहरीको इतिहासदेखि कार्य प्रकृतिसम्म झल्कने प्रस्तुती देखाइएको थियो ।

प्रतिक्रिया