काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारको सय दिनमा बैदेशीक रोजगारको क्षेत्रलाई सहज र मर्यादित बनाउने काम भएको बताउनुभएको छ ।
मन्त्रालय सम्हालेका सय दिनमा भएका क्रियाकलाप र उपलव्धीहरुका बिषयमा जानकारी दिन शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले बैदेशीक रोजगार क्षेत्रमा देखिएका समस्या हल गर्दै सहज र मर्यादित बनाउने काम भएको बताउनुभयो ।
दुईपक्षीय श्रम सम्झौतालाई प्राथमिकतामा राखेर काम गर्न मन्त्रालयमा द्विपक्षीय सम्झौता गर्न छुट्टै डेस्क स्थापना गरिएको, ओमानसंग पहिलोपटक द्विपक्षीय श्रम सम्झौताको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरियासंग इपिएस सिष्टमलाई नविकरण गर्न कार्यदलले काम गरेर अन्तिम चरणमा पुराएको र युरोपमा श्रम सम्झौता विस्तार गर्ने गरि काम भइरहेको समेत मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्री भण्डारीले बैदेशीक रोजगारीमा गएर मृत्यु भएकाका परिवारलाई १० लाखसम्मको राहत दिने, बैदेशीक रोजगारीमा रहेका बेला उपचारका क्रममा मृत्यु भएकालाई उपचारखर्चका साथै राहत रकम दिने काम सुरु गरेको उल्लेख गर्नुभयो ।
कुनै पनि देशमा बैधानिक रुपमा काम गरिरहेका नेपालीलाई नेपाल सरकारले पनि बैधानिक बनाउनका लागि नियोगहरुमार्फत श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको उहाले बताउनुभयो । उहाले भिजिट भिसामार्फत भइरहेको दुरुपयोग रोक्नका लागि मन्त्रालयले गम्भीर भएर काम गरिरहेको जिकिर गर्नुभयो ।
मन्त्रालयले सवै स्थानीय तहबाट एकीकृत रोजगार सेवा बनाउने तयारी भएको, सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको छोराछोरीको पनि बिमा गर्ने काम सुरु गरिएको जनाएको छ । त्यस्तै सवै प्रदेशमा व्यवसायीक सिप बिकास प्रतिष्ठान स्थापना गर्ने तयारी भइरहेको पनि मन्त्री भण्डारीले जानकारी दिनुभयो ।