स्वास्थ्य बीमा कार्यक्रममा ३० प्रतिशत नागरिक आवद्ध

admin

काठमाडौं । नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा कूल जनसंख्याको ३० प्रतिशत नागरिक आवद्ध भएका छन् ।

आफ्नो चार वर्षे कार्यकालमा भएका उपलव्धी सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले २०७७ कार्तिकमा कुल जनसंख्याको १२ दशमलव ७९ प्रतिशत स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएकोमा २०८१ कार्तिकसम्म ३० प्रतिशत नागरिक आवद्ध भएको जानकारी गराउनुभएको हो ।

उहाका अनुसार यस अवधिमा ७९ प्रतिशतले बीमा नवीकरण गरेका छन् । आफ्नो कार्यकालमा स्वास्थ्य बीमा ऐनले दिएको अधिकारका आधारमा १८ वटा कार्यविधि बनाइएको बसौलाले बताउनुभयो ।

बसौलाले आफ्नो ४ वर्षे कार्यकालमा ७७ जिल्लाको ७५३ वटा स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुभयो ।

सेवा प्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्य बीमा बोर्डको वेभसाईटमा प्रकाशित गर्ने गरिएको, हरेक वर्ष स्वास्थ्य बीमा बोर्डको नीति तथा तथा कार्यक्रम र वार्षिक बजेट बनाई कार्य गर्ने व्यवस्थाको शुरुवात गरेको उहाले बताउनुभयो ।

त्यस्तैबसौलाले स्वास्थ्य बीमा ऐन, २०७४ को मर्म बमोजिम स्वास्थ्य बीमा कोष बनाई, सो को सञ्चालन कार्यविधि स्वीकृत गराई कार्य भईरहेको जिकिर गर्नुभयो । उहाले स्वास्थ्य बीमा कार्यक्रमकै कारण सरकारी अस्पताल र स्वास्थ्य केन्द्रबाट प्रभावकारी काम भएको बताउनुभयो ।

उहाले सिमित जनशक्तिका बाबजुत आफ्नो कार्यकालमा बोर्डबाट भएका कामकारवाहीहरु सन्तोषजनक रहेको धारणा राख्नुभयो ।

बसौलाले स्वास्थ्य बीमाको स्थायी संगठन संरचना स्वीकृत गरि आफ्नै कार्यविवरण अनुसारको कार्मचारीबाट सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यकारी निर्देशक बसौलाको चार बर्षे कार्यकाल आगामी मंसिर २५ गतेबाट समाप्त हुँदैछ ।

प्रतिक्रिया