२ करोड घुस खाएको आरोपपछि पर्यटन मन्त्रीले भने: करोड होइन कौडी खाएको दिन पशुपतिनाथ पुगेर प्राण त्याग्छु

admin

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूले स्वार्थ समूहहरुसँग कुनैपनि खालको सम्झौता नगर्ने बताउनुभएको छ ।

मन्त्री पाण्डेले काम गर्ने क्रममा स्वार्थ समूहका मतियार र बिचौलियाहरु बलशाली देखेको उल्लेख गर्दै उनीहरुसँग कुनैपनि सम्झौता नगरी अघि बढ्ने बताउनुभएको हो । मन्त्री पाण्डेले स्वार्थ समूहहरुकै कारण आफूमाथि पनि करोडौँ घुस खाएको अफवाह फैल्याउने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

आफूले निष्ठाको राजनीति गरिरहेको र मन्त्रीको रुपमा कौडी पनि दुरुपयोग नगर्ने उहाँको भनाई थियो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूलाई मानमर्दन गराउने गरी घुस खाएको आरोप लगाउनेहरुसँग प्रतिवाद गर्दै अघि बढ्ने पनि बताउनु भयो ।

‘म स्वार्थ समूहको मतियारहरुसँग, बिचौलियासँग कदापि सम्झौता गर्ने छैन । म देशको हितको निम्ति, राष्ट्रको हितको निम्ति, हाम्रो आफ्नो हितको निम्ति जस्तोसुकै कठोर कदम चाल्न, त्यस्ता मतियारहरुसँग लड्न, भिड्न, जस्तोसुकै प्रतिवाद गर्न पनि त्यो आत्मविश्वास पनि मसँग छ,’ उहाँले भन्नुभयो ।

त्यस अवसरमा मन्त्री पाण्डेले राजनीतिमा सबै गलत हुन्छन् भन्ने सत्य नभएको पनि दोहोर्याउनु भयो ।

प्रतिक्रिया