काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बिभिन्न आन्दोलनपछि मुलुकको व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था भने परिवर्तन हुन नसकेको बताउनुभएको छ ।
रामप्रसाद राई स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको बिचार गोष्ठीमा बोल्दै ज्ञवालीले मुलुकको व्यवस्था परिवर्तनसंगै अव जनताको अवस्था परिवर्तनमा ध्यान दिनुपर्ने समेत बताउनुभयो ।
तीन–तीनवटा ठूला परिवर्तन पश्चात पनि जनतामा देखिएका गुनासालाई सम्बोधन गर्नुपर्ने उहाले बताउनुभयो । ज्ञवालीले बिभिन्न आन्दोलनपछि मुलुक र जनताको अवस्थामा केहि सुधार भएपनि क्रान्तिले लिएको लक्ष्यसम्म भने पुग्न नसकिएको धारणा राख्नुभयो । परिवर्तनका शक्तिहरुले आफुलाई नियाल्दै आफ्ना काम–क्रियाकपालहरुलाई जनताको जिवनस्तरसंग जोड्न सक्नुपर्ने उहाको भनाइ छ ।
ज्ञवालीले ७ सालदेखिका क्रान्तिका अभिभाराहरुलाई मुलुकको बिकाससंगै जनमुखी कार्यक्रम ल्याएर पुरा गर्नसक्नुपर्नेमा जोड दिनुभयो । उहाले २००७ सालकोे राणाविरुद्धको क्रान्तिमा नेतृत्व गर्नुभएका रामप्रसाद राईका अधुरा सपनाहरुलाई साकार पार्दै अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।