त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन प्रधानमन्त्रीको निर्देशन

admin

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति गर्न निर्देशन दिनुभएको छ ।

बिहीबार किर्तिपुरमा त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा कुलपति ओलीले विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलपतिले गर्ने भएकाले मेरिटोक्रेसीमा रहने गरी काम गर्न उपकुलपतिलाई आफूले भन्दै आएको बताउनुभयो । बैठकमा सिनेट सदस्यले सिफारिस भइसकेका डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति नभएको भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आउँदो पुस ७ गतेभित्र ती नियुक्ति गरिसक्न निर्देशन दिनुभयो ।

विश्वविद्यालयमा कुलपतिले हस्तक्षेप गरेको भनेर मिडियाबाजी पनि गरिएको भन्दै उहाले आफुबाट कुनै किसिमको हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो । उहाँले सिनेट बैठकहरुलाई दिनभर छलफल र विवाद गर्ने ढाँचामा नभर्ई मर्यादित, व्यवस्थित, रचनात्मक र परिपक्वरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । ।प्रधानमन्त्री ओलीले विश्वविद्यालयहरुमा भएका समस्या र मागहरुको विधिवत् सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सभाबाट त्रिवि सेवामा प्रवेशका लागि सेवा योग्यता प्रशिक्षण परीक्षाको व्यवस्था गर्ने लगायत १२ बुँदे नीति पारित भएका छन् । प्रधानमन्त्री ओलीले विश्वविद्यालय सुधारका विविध विषयमा अनौपचारिक छलफल गर्न आगामी पुस ७ गतेका लागि समय निर्धारण गर्नुभएको थियो ।

प्रतिक्रिया