काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकको गणतन्त्रलाई सवल बनाउनु सवैको कर्तव्य भएको बताउनुभएको छ ।
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले मंगलबार क्षेत्रपाटीमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले बिभिन्न आन्दोलन र अग्रजहरुको त्याग र बलिदानीका कारण मुलुकमा गणतन्त्र आएको भन्दै यसलाई सवल बनाउनु सवैको कर्तव्य भएको बताउनुभएको हो ।
सभापति देउवाले राष्ट्रिय मेलमिलापको नीतिबाट नै मुलुक अहिलेको अवस्थामा आएको भन्दै हिमाल पहाड तराई सवै क्षेत्रमा रहेका नागरिकलाई एकतावद्ध भएर अघि बढाउनु अहिलेको आवश्यकता रहेको धारणा राख्नुभयो ।
सवै पक्षबीच राष्ट्रिय एकता कायम गर्न सके राष्ट्रिय मेलमिलाप दिवसले सार्थकता पाउने उहाको भनाइ छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केको सम्झनामा कांग्रेसले हरेक बर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउदै आएको छ ।
विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्कालगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्केका थिए ।