काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आरक्षण क्षेत्रमा जनताले दुख नपाउने गरि कानून बनाउन सुझाव दिनुभएको छ ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा वन तथा वातावरण मन्त्रालयसंग सम्बन्धी दफाहरुको छलफलका क्रममा सभापति देउवाले यस्तो सुझाव दिनुभएको हो ।
मध्यवर्ती क्षेत्र र राष्ट्रिय निकुञ्जको आरक्षण क्षेत्रमा जनताहरुले धेरै दुख पाइरहेको उहाले बताउनुभयो । सभापति देउवाले बाघले मान्छे मार्दा केहि नहुने तर प्रतिकारमा मान्छेले बाघ मारे कानून लाग्ने अवस्थालाई उचित ढंगले समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।
बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आरक्षण क्षेत्रमा जनताले भोग्दै आएका समस्या समाधानका लागि बाधक रहेको कानूनहरुलाई संशोधन गरिने प्रतिवद्धता जनाउनुभयो ।