काठमाडौं । कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुदको तयारीका लागि काठमाडौंमा सचिवालय स्थापना गरिएको गरिएको छ ।
राखेप भवन त्रिपुरेश्वरमा स्थापना गरिएको सचिवालयको बुधबार खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नुभयो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ यहि चैत्र २३ गतेदेखि ३० गतेसम्म कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद २०८१ आयोजना हुँदैछ ।
राष्ट्रिय खेलकुदलाई सफल बनाउनका लागि आवश्यक कामकाजलाई सहजीकरण गर्न काठमाडौंमा नै सचिवालय स्थापना गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । सचिवालयको उद्घाटन गर्दै खेलकुदमन्त्री चौधरीले माघ ३ गते राखेप बोर्डको बैठक बोलाइएको र बैठकमा १० औँ राष्ट्रिय खेलकुदका बिषयमा विस्तृत छलफल हुने जानकारी दिनुभयो ।
उहाले राष्ट्रिय खेलकुदलाई भव्य रुपमा सम्पन्न गर्नका लागि बजेटको अभाव नहुने भन्दै यसअघिको भन्दा भव्य रुपमा सम्पन्न गर्ने जिकिर गर्नुभयो । मन्त्री चौधरीले २७ वटा संघमध्ये कतिपय संघहरु सक्रिय नरहेको अवस्थामा संघलाई कारवाही गरेको र त्यसकै कारण प्रशिक्षक र खेलाडीहरुलाई कुनै असर नपर्ने बताउनुभयो ।
त्यस्तै राखेप सदस्यसचिव टंकलाल घिसिङले खेलकुदका लागि प्रदेशले छनौट कार्यलाई अन्तिम चरणमा पुराएको बताउनुभयो । प्रतियोगीतामा सहभागी बिभिन्न टोलीलाई आवश्यक बजेट उपलव्ध गराउने र टोली व्यवस्थापनको जिम्मेवारी पनि उनीहरुलाई नै दिइने जानकारी दिनुभयो । १० औँ राष्ट्रिय खेलकुदमा यसअघिको भन्दा पनि बढिको संख्यामा टोली र खेलाडीहरुलाई सहभागीता गराउने राखेपले जनाएको छ ।