काठमाडौं । तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उहाँ सफल हुनुभएको थियो ।
पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ । पृथ्वी जयन्तीको अवसरमा राप्रपा लगाएतका बिभिन्न दलका साथै संघसंस्थाहरुले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गरेका थिए ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो ।सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइएको हो ।