काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले समानविचारधारा भएकाहरुसंग एकता र सहकार्यको प्रयास गर्ने बताउनुभएको छ ।
३०३ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गर्दै अध्यक्ष थापाले यसअघि सहकार्य गरेका र समानबिचार भएकाहरुसंग आफुले एकता र सहकार्यको प्रयास गर्ने बताउनुभयो ।
२०७३ सालमा गणतन्त्रको वकालत गरेका पुराना अग्रजहरुलाई आफुले उदारतापूर्वक एकीकृत गरेपनि दुर्घटना भएकाले भन्दै पुनः एकताको प्रयास गर्ने उहाले बताउनुभयो ।
थापाले मुलुकमा बलियो राष्ट्रबादी शक्ति निर्माण गर्ने आफ्नो लक्ष्य रहेको धारणा राख्नुभयो । उहाले पृथ्वी जयन्तीलाई हरेक बर्ष मनाउने सरकारी निर्णय र अन्य राजनीतिक दलहरुले पनि राष्ट्रिय दिवस मनाउनु उपलव्धीपूर्ण रहेको उल्लेख गर्नुभयो ।
चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेर बहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल लगाएत बिभिन्न दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकको उपस्थीति रहेको थियो । पृथ्वी जयन्तीका अवसरमा राप्रपा नेपालले हरेक बर्ष चियापान समारोहको आयोजना गर्दै आएको छ ।