काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन नयाँ संघीय संसद भवनको अवलोकन गर्नुभएको छ ।
सोमबार सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गर्नुभएको हो । सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल लगाएतले राष्ट्रपति पौडेललाई स्वागत गर्नुभएको थियो ।
अवलोकनका क्रममा सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले सो भवन निर्माणमा भईरहेको प्रगतिबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो । सो क्रममा पौडेलले सम्बद्ध पक्षलाई यथाशक्य चाँडो सक्न निर्देशन पनि दिनुभयो ।
संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको नयाँ संसद भवनको संरचना निर्माण गरिएको छ । १ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ ।
संघीय संसद भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ ।