जनकपुरधाम – मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह दुई सरकारी गाडी ठोक्किँदा घाइते भएका छन्।
गएराति साढे ९ बजेतिर जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह चढेको गाडी (मधेश प्रदेश ०२–००१ झ ०१६५) र अर्को गाडी (प्र ०३–००१ झ ००९६) ठोक्किएको थियो।
दुर्घटनामा घाइते मन्त्री सिंहको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ। अस्पतालले मन्त्री सिंहको अवस्था खतरामुक्त रहेको जनाएको छ।
घटनाबारे छानबिन गर्न मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषाका डीएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको जानकारी दिएका छन्।
दुर्घटनामा संलग्न अर्को गाडी खानेपानी डिभिजन कार्यालय पर्साको रहेको र उक्त गाडीका चालक पनि घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले बताए। घटनाबारे थप अनुसन्धान जारी रहेको उनले जानकारी दिएका छन्।