काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकारकार अप्राकृतिक भनि भ्रम फिँजाउने काम भइरहेको बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नु पर्ने र ती दलले शासन गर्ने कुरा प्राकृतिक भएको प्रष्ट पार्नुभयो ।
जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक भएको उहाँले बताउनुभयो । देश बनाउनको लागि धेरै राजनीतिक दल नभए ठुला र बलिया राजनीतिक दल आवश्यक रहेको उहाँले बताउनुभयो । पोखरेलले नयाँ पुस्तालाई राजनीतिसँग जोड्न नसक्ने राजनीतिक दलले देशको लागि काम गर्न नसक्ने बताउनुभयो ।
देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको भन्दै पोखरेलले त्यो क्षमता नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको दावी गर्नुभयो । उहाले राष्ट्र निर्माण गर्ने व्यक्ति केपी ओली माथि चौतर्फी हमला भइरहेकाले प्रतिरक्षा गर्न अग्र मोर्चामा उभिन युवा संघलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालले तीन जनालाई सम्मान गरेको थियो । सम्मानीत हुनेमा खेलकुद क्रिकेटतर्फ क्यानका सचिव तथा पूर्व राष्ट्रिय कप्तान पारस खड्का, सुचना प्रविधितर्फ अस्गर अली र महिला खेलकुदमा पलेसा गोर्वद्धन रहेका छन् ।