काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सोमबार पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार इमाडोल-१ (बानेश्वर) फिडरअन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरपरका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ।
कुलेश्वर, बानेश्वर, जोरपाटी, र कीर्तिपुर वितरण केन्द्रअन्तर्गत विद्युतीय वितरण लाइनलाई भूमिगत बनाउने कार्यका लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार माघ १५ गतेदेखि १८ गतेसम्म विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुनेछ। माघ १५ मा गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्र, माघ १६ मा मातातीर्थ (कुलेश्वर) फिडरअन्तर्गत मातातीर्थ क्षेत्र, माघ १७ मा शंखमुल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल क्षेत्र, र माघ १८ मा केएससी र पुरानो एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर क्षेत्रका बासिन्दाहरूले पाँच घण्टासम्म विद्युत् आपूर्ति बन्द रहने छ।