काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा प्राप्त अधिकार खोसिने खतरा उत्पन्न भएको बताउनुभएको छ ।
समाजवादी मोर्चा नेपालद्वारा मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विषयक विचार सभामा बोल्दै प्रचण्डले प्राप्त अधिकार खोस्नेगरी संविधान संशोधन गर्न खोजेको भन्दै त्यस्तो कदम आफूहरुलाई स्वीकार्य नहुने समेत बताउनुभयो ।
प्रचण्डले सरकारका विगत ६ महिनाका कदम हेर्दा प्रमुख दल र सरकार प्रतिगमनको यात्रामा देखिएकाले समाजवादी मोर्चालाई सशक्त नबनाइए देशलाई दुर्घटनामा पु¥याउन सक्ने उल्लेख गर्नुभयो ।
उहाले अलोकतान्त्रिक र निरङ्कुश तरिकाले अध्यादेश ल्याइएको आरोप लगाउनुभयो । माघ १८ गतेको सदन बस्नुभन्दा अगाडि विपक्षी दलहरुको बैठक बसेर साझा धारणा बनाउने र त्यसै अनुसार सदनमा प्रस्तुत हुने उहाको भनाइ छ ।
उहाले आफ्नाले जतिसुकै अपराध गरेका भए पनि तुरुन्तै चोख्याउने र राजनीतिक विरोधीलाई प्रतिशोध साँध्ने काम भएको समेत बताउनुभयो ।
प्रचण्डले समाजवादी मोर्चालाई गति दिने प्रयास र बिपक्षीहरुलाई उदेश्यमूलक ढंगले अघि बढाउने प्रयास देशप्रतिको चिन्तामा आधारित रहेको उल्लेख गर्नुभयो ।