सरकार जनताको मागलाई पहिलो प्राथमिकतामा राख्दै काम गरिरहेको छ :मन्त्री सिंह

admin

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

सोमबार बागलुङको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र अरू दललाई समेत मिलाएर बनेको सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले वर्तमान सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन तर्फ लागेको भन्दै अहिलेको सत्तागठबन्धन स्थिर सरकारको जनचाहनाअनुसारनै बनेको दाबी गर्नुभयो । राजनीतिक अस्थितरताका कारण विकासले गति लिन नसकेको भन्दै उपप्रधानमन्त्री सिंहले लामो समयदेखि रोकिएका कामहरू अहिले सुचारु भएको बताउनुभयो ।

सरकारका विषयमा विभिन्न व्यक्तिहरुले नकारात्मक टीकाटिप्पणी गरे पनि अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म चल्ने प्रष्ट पार्नुभयो । त्यस्तै फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले देशभर सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको बताउनुभयो । नयाँ सहर आयोजनाको कामलाई तीव्रता दिन र आवश्यक बजेट व्यवस्थापनमा आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया