काठमाडौं । सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव विथोल्न खोज्ने प्रयास रोक्नका लागि सामाजिक सञ्जाल नियमनसम्बन्धी कानून आवश्यक परेको बताउनुभएको छ ।
नेपाल टेलिकमको बार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत एक–अर्कालाई ठोस पुराउने क्रियाकलाप बढ्दै गएकाले सामाजिक सद्भाव विथोल्न खोज्ने प्रयास रोक्नका लागि सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याइएको बताउनुभएको हो ।
विधेयकका बारेमा विरोध र छलफल हुनु लोकतन्त्रमा स्वभाविक रहेको उहाले बताउनुभयो । उहाले राष्ट्रिय एकता खल्बलाउने काम देशद्रोह भन्ने आधारमा दण्ड र सजाय तोकिएको जिकिर गर्नुभयो । देशका बिरुद्ध मनपरी लेख्न पाउनुपर्ने कुरालाई प्रेस स्वतन्त्रता भन्न खोज्ने कुरामा राज्य सहमत नरहेको उहाले बताउनुभयो ।
मन्त्री गुरुङले सुसुचित हुने जनताको अधिकार नखोस्ने र जनताको वाक स्वतन्त्रको ग्यारेन्टी सरकारले गर्ने धारणा राख्नुभयो । अराजकतालाई नियमन गरेर मात्रै लोकतन्त्र बलियो बनाउन सकिने उहाको भनाइ छ । त्यस्तै सञ्चारमन्त्री गुरुङले सुशासन र आर्थिक समृद्धिका लागि सरकारले अध्यादेश ल्याएको र ४७ साल यताकै ठूलो सुधारको प्रयास भएको दावी गर्नुभयो ।
उहाले नेपाल टेलिकमको सेवाको गुणस्तर बढाउन र नयाँ प्रविधिको प्रयोगबाट सेवा विस्तार गर्न निर्देशन दिनुभयो । कार्यक्रममा टेलिकमका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।