प्रतिनिधिसभामा बिहीबार अध्यादेशविरुद्धका विरोध सूचनाहरू एकसाथ निर्णयार्थ प्रस्तुत हुने

admin

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा अध्यादेशबिरुद्ध परेका विरोध सूचनालाई एकसाथ निर्णयार्थ प्रस्तुत गरिने भएको छ ।

संसदमा विचाराधिन विधेयक र पेश भएका अध्यादेशका सम्बन्धमा प्रमुख दलका सचेतकसंग सभामुख देवराज घिमिरेले गर्नुभएको छलफलका क्रममा अध्यादेशबिरुद्ध परेका विरोध सूचनालाई एकसाथ निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको हो ।

बिभिन्न ६ वटा अध्यादेशबिरुद्ध ५१ वटा विरोधका सूचना दर्ता भएका छन् । ६ वटा अध्यादेशमध्ये प्रत्येक अध्यादेशमाथि परेका विरोधका सूचनामाथि छलफल हुने र एकसाथ निर्णयार्थ प्रस्तुत हुने सहमति भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

५१ वटा विरोधका सूचना दर्तामाथि छुट्टा–छुट्टै निर्णयार्थ प्रस्तुत गर्दा निकै समय लाग्ने भएकाले एकसाथ निर्णयार्थ प्रस्तुत हुने उहाले बताउनुभयो । बर्तौलाले सदनमा सत्तापक्षको बहुमत रहेकाले अध्यादेश बहुमतले पारित हुने दावी गर्नुभयो ।

जसपा पनि सत्ता साझेदार दल रहेकाल अध्यादेशमा समर्थन जनाउने उहाको भनाइ छ । संसदको पहिलो बैठकमा रास्वापले संसदको मर्यादा भंग गर्ने काम गरेको बिषयमा पनि छलफल भएको उहाले बताउनुभयो ।

त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेशका बारेमा धेरै विरोधका सूचना दर्ता भएकाले नियमावली अनुसार एउटा अध्यादेशमा एक जना प्रस्तावक हुने र विरोधका सूचना दिनले बोल्ने सहमति भएको बताउनुभयो । उहाले मन्त्रीले जवाफ दिएपछि विरोधका सूचनाका आधारमा नभइ अध्यादेशका आधारमा निर्णयार्थ प्रस्तुत हुने जानकारी दिनुभयो ।

त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पनि अध्यादेशलाई सहज रुपले निर्णयार्थ प्रस्तुत गर्ने बिषयमा छलफल भएको बताउनुभयो । बिहीबार बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताले धारणा राख्ने उहाले बताउनुभयो । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसा १ बजे बोलाइएको छ । बैठकमा सरकारले ल्याएको अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।

 

प्रतिक्रिया