काठमाडौं । गृह मन्त्रालयले नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकता दिदै बिभिन्न ऐन तर्जुमा गर्ने काम भइरहेको जनाएको छ ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्र्दै गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले सुरक्षा चुनौतीलाई सामना गर्ने कार्य योजनाका साथ काम भइरहेको भन्दै नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकता दिइएको बताउनुभएको हो ।
उहाले प्रहरी, सशस्त्र प्रहरी ऐनलाई प्रतिस्थापन गरी परिवर्तित सन्दर्भमा नयाँ ऐन तर्जुमा गर्ने विधेयक सदनमा पुगेको बताउनुभयो । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक समेत सदनमा रहेकाले सदनले त्यसलाई पूर्ण बनाएर पारित गर्ने उहाले बताउनुभयो । प्रवक्ता तिवारीले विपद्जन्य घटनामा प्रभावितलाई राहतलगायत पुनःनिर्माण एवं पुनः स्थापनासँग सम्बन्धित कार्यलाई थप प्रभावकारी बनाउने काम भइरहेको जानकारी दिनुभयो ।
उहाले चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन अनमुतिपत्र उपलब्ध गराउने कार्यविधि कार्यान्वयनमा आएको जानकारी दिनुभयो । मन्त्रालयले नुवाकोटस्थित कारागार पूर्ण रुपमा सञ्चालनमा आएको, केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीसम्बन्धी सेवा विस्तार गरिएको लगाएतका जानकारी गराएको छ ।