जन्ती बोकेको गाडी ट्रकसँग ठोक्कियो, एक जनाको मृत्यु, पाँच घाइते

admin

काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, गएराति भएको उक्त दुर्घटनामा बाराको गढी गाउँपालिका–४ का ७० वर्षीय सिताराम धामीको मृत्यु भएको हो। प्रहरी निरीक्षक सन्तोष काकीका अनुसार जन्ती बोकेको बागमती प्रदेश ०६–००१ ख ०१९५ नम्बरको बस र विपरीत दिशाबाट तेजपत्ता बोकी कटारीतर्फ जाँदै गरेको ना८ख २४०४ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

घाइते भएका सबैलाई जिल्ला अस्पताल उदयपुर, गाईघाट ल्याइएको थियो। उपचारका क्रममा धामीलाई अस्पतालले मृत घोषणा गरेको हो।

दुर्घटनामा २६ जना घाइते भएका थिए, जसमा २० जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ। दुई जना जिल्ला अस्पताल उदयपुरमै उपचाररत छन् भने तीन जनालाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ।

प्रतिक्रिया