६.१ म्याग्निच्युडको भूकम्पले कति क्षति भयो ?

admin

काठमाडौं । शुक्रबार बिहान मध्यराति सिन्धुपाल्चोक केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ, जसले केही भौतिक क्षति पुर्‍याएको विवरण प्राप्त हुन थालेको छ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको छ भने एक जना बन्दी घाइते भएका छन्।

सिन्धुपाल्चोक कारागारमा रहेका भोटेकोशी गाउँपालिका–५ का ३३ वर्षीय स्याङबो तामाङ भाग्ने क्रममा घाइते भएका हुन्। हाल उनको चौतारा अस्पतालमा उपचार भइरहेको छ, र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय कोदारीको ब्यारेक भवनमा पनि क्षति पुगेको छ। सहायक प्रजिअ नेपालीका अनुसार ब्यारेक भवन चर्किएको छ, भने अन्य क्षतिको विवरण आउने क्रम जारी छ।

सुरक्षा निकायलाई उद्धार तथा आपत्कालीन स्थितिका लागि तयारी अवस्थामा राखिएको सहायक प्रजिअ नेपालीले जानकारी गराएका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति २:५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो भूकम्पको धक्का देशभर महसुस गरिएको थियो।

प्रतिक्रिया