पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद समाधान गर्न एमालकाे ध्यानाकर्षण

admin

काठमाडौं । नेकपा एमालेले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद समाधान गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

एमाले पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकले केबलकार निर्माणको विवादमा स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवाला समूहसँग छलफल गरेर समस्या समाधान गर्न ध्यानाकर्षण गर्ने निर्णय गरेको हो ।

केबलकार निर्माणको प्रक्रियालाई अघि बढाउन सहज वातावरण बनाउन पार्टीले चासो राखेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । बैठकले पार्टीका संगठनका संरचनालाई परिवर्तन गर्ने निर्णय गरेको छ ।

जसअनुसार जनसंगठनमा केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटीको अभ्यास भइरहेकोमा अब स्थायी कमिटीको संरचना नराख्ने निर्णय भएको महासचिव पोखरेलले जानकारी दिनुभयो ।

बैठकले स्थानीय बिकास बिभाग र प्रचार बिभागको सचिवमा क्रमश नवराज गेलाल र गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै नीति तथा कार्यक्रम छलफल गर्ने प्रयोजनका लागि स्थानीय तहका जनप्रतिनिधिहरुको भेला चैत्र मसान्तसम्म र प्रदेशका हकमा प्रदेशमा रहको मुख्यमन्त्री मन्त्री र दलका नेतालगाएत रहेको संयुक्त भेला गर्ने निर्णय भएको पोखरेलले बताउनुभयो ।

महासचिव पोखरेलले सरकारले ल्याएका अध्यादेश पारित गर्न खोज्नु कर्तव्य भएको भन्दै सरकारको प्रयासलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभयो ।

त्यस्तै बैठकले पार्टीको स्थापना दिवसमा कम्युनिष्ट योद्धा सम्मान गर्न प्रत्येक प्रदेशबाट एक–एक जना कम्युनिष्ट योद्धा पहिचान गरि सिफारिस गर्न निर्देशन दिइएको उहाले बताउनुभयो । बैठकले सुदूरपश्चिम प्रदेशले प्रदेश कमिटी सदस्य नियुक्त गर्न गरेको सिफारिस अनुमोदन गरेको छ ।

प्रतिक्रिया