काठमाडौं: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजावादीहरूको प्रदर्शनलाई कुनै असाधारण घटना नभएको प्रतिक्रिया दिनुभएको छ।
सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले राजावादीहरूको प्रदर्शनले चिन्तित हुनुपर्ने कुनै अवस्था नरहेको स्पष्ट पार्नुभयो।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतले उचालेको हो भन्ने प्रश्नमा उहाँले यस्तो कुनै प्रमाण नरहेको बताउँदै भन्नुभयो, “यसमा कुनै अनौठो कुरा छैन, केही भएकै छैन। कसैले उचाल्ने कुरा पनि छैन, उचालेको थाहा पनि छैन।”
त्यसैगरी, देउवाले वर्तमान सरकार दुई ठूला दलहरूको सहकार्यमा चलिरहेको भन्दै सरकारमा कुनै समस्या नरहेको बताउनुभयो। साथै, उहाँले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुने पनि स्पष्ट गर्नुभयो।