काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका कारण प्रतिक्रियाबादीहरुले टाउको उठाउने मौका पाएको टिप्पणी गर्नुभएको छ ।
सिंहदरबारमा सोमबार बसेको समाजवादी मोर्चाको बैठकको तयारीसम्बन्धी छलफलपछि अध्यक्ष प्रचण्डले सरकारका कारण जनतामा निराशा छाएको र त्यसैलाई प्रतिक्रियाबादीले फाइदा उठाउन खोजेको टिप्पणी गर्नुभएको हो ।
यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उहाको भनाइ छ । प्रचण्डले सरकारको समस्या समाधानमा सरकारको ध्यान केन्द्रीत हुन नसकेको र सेटिङमा व्यस्त रहेको आरोप लगाउनुभयो । गणतन्त्रवादीहरु एक भएर अघि बढ्ने बिषयमा सल्लाह भइरहेको उहाको भनाइ छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधानदेखि परिवर्तनसम्मलाई सिद्धाउन खोज्ने गतिविधि निन्दनीय रहेको भन्दै इतिहासको रथ पछाडी फर्कन नसक्ने बताउनुभयो । उहाले मुलुक र जनताको हित राजसंस्थाबाट सम्भव नरहेको जिकिर गर्नुभयो ।
नेपाल समाजवादीका नेता गंगा नारायण श्रेष्ठले समाजवादी मोर्चाको बैठक बोलाउनका लागि तयारी स्वरुप छलफल भएको बताउनुभयो । उहाले देश अप्ठेरो अवस्थामा ढकिलिरहेको अवस्थामा समाजवादी मोर्चाका तर्फबाट शसक्त कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाले समाजवादी मोर्चाको बैठक मंगलबार बस्ने र आगामी कार्यक्रम तय गर्ने बताउनुभयो ।