काठमाडौं । हिमवत्खण्ड कला–साहित्य–संस्कृतिक सम्मेलन शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ ।
हिमवत्खण्ड क्षेत्रका विविध भाषा, संस्कृति, सभ्यता, तथा ज्ञानपरम्परालाई आत्मसात् गर्दै विभिन्न जातजाति र समुदायबीच सांस्कृतिक आदान–प्रदानको अवसर गर्ने उदेश्यका साथ मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले सम्मेलनको आयोजना गरेको हो । सम्मेलनको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उद्घाटन गर्नुभयो । सो क्रममा पूर्वराष्ट्रपति भण्डारीले कला साहित्य र संस्कृतिबाट बारेमा गरिने अन्तक्र्रियाबाट हिमवत्खण्डको गरिमालाई उजागर गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विश्वव्यापीकरणको प्रक्रिया तीव्र बनिरहेको अवस्थामा राष्ट्रियता पनि भूगोलको सीमाभित्र नरहेको भन्दै उहाले विश्वको जुनसुकै अवस्था रहेका नेपाली भाषी समूदायलाई साझा संस्कृतिले भावनाको एकताले जोडिरहेको बताउनुभयो । हिमवत्खण्डका साझा चूनौतिहरुको सामना गर्न वातावरणीय संरक्षण, जलश्रोत व्यवस्थापन, हरितऊर्जा प्रवद्र्धन तथा स्थानीय समूदायलाई जलवायु परिवर्तन अनुकुलन रणनीतिमा सहभागी गराउनुपर्ने उहाले बताउनुभयो ।
सम्मेलनका क्रममा हिमवतखण्डमा उत्पन्न सभ्यता तथा सांस्कृतिक वैभवमाथि प्राज्ञिक विमर्श गरिनुका साथै तिनको अध्ययन, अनुसन्धान, संरक्षण र प्रवद्र्धनमा जोड दिइने प्रतिष्ठानले जनाएको छ । सम्मेलनमा नेपालका सातै प्रदेशका साथै भारत, चीन, बंगलादेश, म्यानमार, भूटान तथा थाइल्यान्डबाट आएका प्रतिनिधिहरुबाट लोकसंस्कृतिसम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ । सम्मेलन तीनदिनसम्म चल्नेछ ।