काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था रहेको बताउनुभएको छ ।
बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिदै मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको र मुलुकभित्रको उत्पादन करिव हजार मेगावाट रहेकाले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था देखिएको बताउनुभएको हो ।
मन्त्री खड्काले यसअघि लोडसेडिङको अन्त्य भएको भनिएपनि उद्योगमा लोडसेडिङ कायमै रहेको जिकिर गर्नुभयो । भारतबाट विद्युत आयात गरेर धान्न सक्ने अवस्था अव नरहेको उहाको भनाइ छ ।
मन्त्री खड्काले बर्षायाममा उत्पादित ३५ सय मेगावाट मध्ये विधुत प्राधिकरणले ७ सय मेगावाट विद्युत मात्र उत्पादन गरेको र बाँकी सवै विद्युत निजी क्षेत्रले उत्पादन गरेको जानकारी दिनुभयो ।
निजी क्षेत्रको उत्पादन र भारतबाट आयात गरिएकाले लोडसेडिङ हटेको जस्तो देखिएको भन्दै उहाले उज्यालो नेपालको नायक कुलमान घिसिङ नभएको तर्क गर्नुभयो ।
उहाले कुलमान घिसिङले सार्वजनिक गरेको प्राधिकरणको नाफाको बिषयमा पनि सत्यता नरहेको जिकिर गर्नुभयो । उहाले चमेलियामा काम गरेको पैसा नतिरेका कारण विधुत प्राधिकरणको बैंक खाता रोक्का भएको बताउनुभयो । बैंक खाता रोक्का हुँदा पनि मन्त्रालयलाई कुनै जानकारी नआएकाले आफुले आवश्यक कागजात माग गरेको उहाले बताउनुभयो ।