काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि सुरु हुने एसईई परीक्षामा सहभागी विद्यार्थीहरूलाई सफलताको शुभकामना दिएका छन्। बुधबार भिडियो सन्देश जारी गर्दै विद्यार्थीहरूलाई नआत्तिइकन आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गरेका छन्।
“अघिल्लो वर्ष नतिजा त्यति राम्रो भएन, यसपटक म तपाईंहरूबाट उत्कृष्ट नतिजाको अपेक्षा राख्छु,” ओलीले भने।
पहिले एसईईलाई “फलामे ढोका” भनेर चिनिने भएकाले यसले विद्यार्थीहरूमा अनावश्यक तनाव सिर्जना गर्ने बताउँदै उनले भने, “परीक्षालाई त्रासको रूपमा नलिऊँ, जीवनभर परीक्षा आइरहन्छ, धैर्यताका साथ राम्रो तयारी गरेर अगाडि बढ्नुपर्छ।”
अनिँदो र थकित अवस्थामा परीक्षा दिन गाह्रो हुने भएकाले पर्याप्त आराम लिएर आत्मविश्वासका साथ परीक्षा दिन उनले आग्रह गरे।
“एसईईको परीक्षा तपाईंहरूको महत्वपूर्ण मोड हो, समय खेर नफालौं। म तपाईंहरू सबैलाई उत्कृष्ट नतिजाका लागि धेरै-धेरै शुभकामना दिन्छु,” ओलीले सन्देशमा उल्लेख गरेका छन्।