दर्ता नगरे फेसबुक-इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा रोक लगाउने सरकारको चेतावनी

admin

काठमाडौं । सरकारले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जालहरूलाई अबको ३० दिनभित्र सूचीकरण गर्न अल्टिमेटम दिएको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गर्दै फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, एक्स लगायतका सामाजिक सञ्जाल सूचीकरण नगरिए सञ्चालनमा रोक लगाइने चेतावनी दिएको हो ।

मन्त्रालयका अनुसार हालसम्म भाइबर, टिकटक, र विटोक मात्रै सूचीकरण भएका छन् । अन्य सामाजिक सञ्जाल कम्पनीहरूलाई ३० दिनभित्र नेपालभित्र सम्पर्क विन्दु तोक्न, गुनासो सुन्ने आवासीय अधिकारी राख्न र स्व-नियमन प्रणालीको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “तोकिएको समयभित्र सूचीकरण नभएमा निर्देशिकाको दफा ३ को उपदफा (७) अनुसार नेपालमा ती सामाजिक सञ्जालहरूको सञ्चालन रोक लगाउन सकिन्छ।”

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार कुनै पनि सामाजिक सञ्जाल कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गराउनु पर्ने व्यवस्था गरिएको छ । साथै, नेपालमा सम्पर्क विन्दु स्थापना गर्नुपर्ने, गुनासो सम्बोधन गर्न अधिकारी तोक्नुपर्ने र स्व-नियमन प्रणालीको निगरानी गर्नुपर्ने व्यवस्था समेत निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया