सुजनले तेस्रोपटक छेडे जिब्रो

admin

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका स्थित बोडेमा बिहीबार प्रसिद्ध जिब्रो छेड्ने जात्रा परम्परागत रूपमा मनाइएको छ।

जात्राको क्रममा स्थानीय युवा सुजन बाग श्रेष्ठले यसपटक तेस्रोपटक जिब्रो छेड्दै परम्परालाई निरन्तरता दिएका छन्। जात्राको दिन बिहान विभिन्न देवगणको पूजा सम्पन्न गरेपछि, तेलमा डुबाइएको करिब १० इञ्च लामो फलामे सुइरो प्रयोग गरी पाँचो गणेश मन्दिर प्रांगणमा अवस्थित मञ्चमा सुजन बागको जिब्रो छेडिएको हो।

जिब्रो छेड्ने व्यक्ति जात्राको अघिल्लो दिनदेखि निराहार व्रत बस्ने परम्परा अनुसार यो धार्मिक कर्तव्यमा सहभागी भएका थिए। जिब्रो छेडेपछि उनले चन्द्राकारको भ्वाय् (महाद्वीप) बोकेर विभिन्न टोलहरू परिक्रमा गरे। परिक्रमा सम्पन्न गरेपछि, भाँगु टोलस्थित पाँचो गणेश मन्दिरमा पुगेर सुइरो निकालिन्छ र त्यसपछि महालक्ष्मी मन्दिरमा सुइरो ठोकिएसँगै जात्रा सम्पन्न हुने परम्परा छ।

बोडे क्षेत्रको सांस्कृतिक र धार्मिक पहिचानसँग जोडिएको यो अनौठो र साहसिक जात्रा हरेक वर्ष चैत महिनाको अन्तिम दिन मनाइन्छ। स्थानीयवासीको सक्रिय सहभागिता र आस्थाले जात्रालाई जीवित राख्दै आएको छ।

प्रतिक्रिया