आजको मौसम : ६ प्रदेशमा वर्षाको सम्भावना

admin

काठमाडौं। नेपालको मौसममा तीनवटा वायु प्रणाली सक्रिय भएको छ । जसअनुसार पश्चिमी वायु, स्थानीय वायुका साथै साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव नेपालको मौसम प्रणालीमा परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तीनवटा मौसम प्रणालीका कारण लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केहि स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।

देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया