कांग्रेस नेताहरूको योगदान जनतासमक्ष लैजान जरुरी छ: सभापति देउवा

admin

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका नेताहरुले गरेको योगदानलाई जनतासामू लैजान जरुरी रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा काङ्ग्रेसका नेता तथा स्याङ्जाका पुर्व सभापति एवं पुर्व सांसद स्वर्गीय खगेन्द्र राज रेग्मीको प्रथम स्मृतिसभालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा रहेर देशका लागि नेताहरुले गरेका योगदानहरुलाई जनतासामू लैजान जरुरी रहेको बताउनुभएको हो ।

उहाले नेताहरुले छाडेर गएका बाँकी कामहरुलाई सवै मिलेर पुरा गर्नुपर्ने धारणा राख्नुभयो । सभापति देउवाले स्वर्गीय नेता रेग्मी पार्टीमा समर्पित भएर काम गर्ने व्यक्ति भएको स्मरण गर्नुभयो ।

कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले राजनीतिमा लागेका व्यत्तिले प्रतिफलको आश गर्न नहुने भन्दै राजनीति त्याग र निरन्तर यात्रा भएको बताउनुभयो । राजनीतिक यात्रामा धेरै अवरोध आउने भएकाले त्यसलाई छिचोल्दै अघि बढ्न सक्नुपर्ने उहाले बताउनुभयो ।

गुरुङले राजनीतिक यात्राका क्रममा कांग्रेस सभापतिले पनि धेरै उतारचढाव खेप्नुपरेको भन्दै पाँच पटक प्रधानमन्त्री बन्यो भनेर रिस गर्न नहुने धारणा राख्नुभयो ।त्यस्तै कांग्रेस नेताहरुले मुलुकलाई अघि बढाउनका लागि अग्रज नेताहरुले गरेको योगदानलाई स्मरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया