रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा

admin

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। आज बसेको पार्टीको आकस्मिक भर्चुअल केन्द्रीय समिति बैठकले गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिनुपर्ने माग गर्दै निर्णय गरेको हो।

रास्वपाले गृहमन्त्री तथा उनको सचिवालय ‘भिजिट भिसा’को नाममा भएको मानव तस्करी प्रकरणमा संलग्न रहेको विषय सार्वजनिक भएपछि पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विगतमा सांसद रमेश लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ’ भनेर दिएका दृष्टान्त आज उहाँ स्वयंले स्मरण गर्नुपर्छ। उहाँले तत्काल गृहमन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग पुर्‍याउनु पर्छ।”

साथै, रास्वपाले यो मुद्दाका कारण आगामी दिनमा संसद अवरुद्ध हुँदा त्यसबाट नेपाली राजनीतिप्रति जनतामा वितृष्णा बढ्न सक्ने चेतावनीसमेत दिएको छ।

त्यस्तै, पार्टीले सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसला सदर गरेको आदेश कानुनी रूपमा स्वीकार गर्ने पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया