ममाथि षडयन्त्र भयो, भिजिट भिसा प्रकरणमा कुनै संलग्नता छैन: गृहमन्त्री

admin

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताउनुभएको छ । बुधबार संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै मन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफनो संलग्नता रहेको भन्ने असत्य र बेठीक कुरा रहेको बताउनुभएको हो ।

उहाले आफुबिरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको भन्दै यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको जिकिर गर्नुभयो । भिजिट भिसा प्रकरणमा अख्तियारबाट हुने कुनै पनि कारवाहीलाई स्वागत गर्ने उहाले बताउनुभयो । उहाले आफुले लोकतन्त्र र सुशासनमा विश्वास गर्ने भएकाले अख्तियारबाट हुने अनुसन्धानलाई प्रभावित पार्ने कुनै पनि काम नहुने स्पष्ट पार्नुभयो ।

गृहमन्त्री लेखकले अन्यत्रबाट नभइ गृहमन्त्रालयकै कसुरजन्य सम्पत्ति विभागमा रहेका तीर्थराज भट्टराईलाई बिमानस्थल अध्यागमनमा सरुवा गरिएको प्रष्टिकरण दिनुभयो ।

संविधानले अधिकार प्रदान गरेको सक्षम निकायले राष्ट्रसेवक कर्मचारीमाथि अनुसन्धान गर्नुपर्ने क्रममा अनुसन्धानले पूर्णता नै नपाउदा सम्बन्धित मन्त्रालयको नेतृत्वसँग जोडेर प्रचार प्रचार गर्ने हो भने शासन व्यवस्था ठिक ढंगले चल्न नसक्ने उहाले बताउनुभयो ।

गृहमन्त्री लेखकले यसअघि कर्मचारीमाथि अख्तियारले छानबिन गर्दैमा मन्त्रीले राजीनामा दिएको अवस्था नरहेको भन्दै आफुले पनि न्याय पाउनुपर्ने जिकिर गर्नुभयो ।

उहाले आफुबिरुद्ध कुनै उजुरी वा कुनै छानविन नभएको अवस्थामा पूर्वाग्रह राखेर कर्मचारीमाथि भएको अनुसन्धानलाई राजनीतिक नेतृत्वसंग जोड्न खोजेको बताउनुभयो । त्यस्तै सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री लेखकले अहिलेको व्यवस्थाबिरुद्धको गतिविधि जायज नभएको उल्लेख गर्नुभयो । लेखकले गणतन्त्रलाई उत्सवको रुपमा मनाउने कुरा संगीतमय हुनसक्ने भएपनि गणतन्त्र फाल्ने कुरा संगीतमय हुन नसक्ने तर्क गर्नुभयो ।

प्रतिक्रिया